Thursday, June 14, 2012

 प्रचण्ड-बैद्यको दोहोरो प्रेमपत्र

३२ जेठ, काठमाडौं । छोडपत्र दिन लागेका श्रीमान-श्रीमती झैं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष मोहन वैध किरणबीच अहिले फकाउने र घुर्काउने क्रम चलिरहेको छ ।
भेटघाट र बोलचाल बन्द जस्तै भएको बेला मंगलबार प्रचण्ड, बैद्यकै घरमा पुग्नुभयो । जे हुनु भयो, अब म तपाईंले भनेको सबै मान्छु, बरु पद पनि छाडिदिन्छु, तपाइर्ंको लागि जे पनि गर्न तयार छु भन्नुभयो । घुर्की लाएर बसेकी प्रेमिकालाई प्रेमीले भन्छौ भने आकाशको तारा समेत झारिदिन्छु, छोडेर नजाऊ न पि्रय भन्ने पारामा बैद्यलाई प्रचण्डले फकाउनुभयो ।
‘हुन्छ मैले भनेको मान्छौ भने म मिल्न तयार छु’ भनेर बैद्यले पनि घुर्की लाएर बसेकी प्रेमिकाले झैं जवाफ फर्काउनुभयो । एउटा प्रेमपत्र पठाऊ न त भन्ने पारामा लिखित प्रस्ताव दिन उहाँले आग्रह गर्नुभयो । हुन्छ भनेर प्रचण्ड दंग परेको प्रेमी झैं र्फकनुभयो ।
भोलिपल्ट बुधबार प्रचण्डले ‘प्रेमपत्र’ लेखेर तयार पार्नुभयो । पत्र लिन बैद्यलाई आफ्नै निवासमा बोलाउनुभयो । बैद्य आफैंले ‘प्रेमपत्र’ बुझ्नुभयो र घर र्फकनुभयो । खै के लेखेछ, यसले माया जालमा फसाउन मात्र लागेको हो कि साँच्चै त्याग नि गर्छ भनेर प्रेमिकाका साथीहरुले सोधखोज गरे झैं बैद्य निवासमा उहाँ पक्षका नेताकार्यकर्ताको छलफल भयो । सबैले प्रचण्डको पत्र ध्यान दिएर पढे । लौ यो त फेरि मायाजालमा फसाउने खालको मात्र पत्र हो, यसलाई विश्वास गर्न हुँदैन भन्नेमा सबै एकमत भए । अब हामीले पनि ‘प्रेमपत्र’ नै लेखेर जवाफ फर्काउनुपर्छ भन्ने निचोढमा पुगे । बिहीबार सबैको सल्लाहमा बैद्यले ‘प्रेमपत्र’ तयार पार्नुभयो । तर ठुस्केर बसेकी प्रेमिकाको पत्र उनका साथीले लगेर दिएजस्तो अरुले नै प्रचण्डलाई लगेर पत्र थमाए ।
‘प्रेमपत्रमा सवालजवाफल’
प्रचण्डले बुधबार ७ बुँदे प्रेमपत्र पठाउनुभएकोमा बैद्यले फर्काएको पत्र भने ६ बुँदाको मात्रै छ । भन्छौं भने घरगृहस्थी सबै छाड्न तयार छु भन्ने प्रेमीको पारामा प्रचण्डलै हदैसम्म लचक भएर फकाउने प्रयत्न गर्नुभयो । तिम्रो कुरा कसरी बिश्वास गर्ने, कुराले मात्रै त म मान्दिन भन्ने प्रेमिकाको पारामा वैद्यले अझै घुर्की लगाउनुभएको छ । प्रचण्ड र बैद्यका फरकफरक ‘प्रेमपत्र’ लाई सारांशमा हेर्दा यस्तै लाग्छ ।
प्रचण्डले बैद्य पक्षले विरोध गर्दै आएका पार्टी निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । उहाँले विगतमा भएका निर्णयहरुको समीक्षा गरि कमी-कमजोरीहरुप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको कुरा पनि स्पष्ट पार्नुभएको छ । उहाँले नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा पनि बताउनुभएको छ । पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनैतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको पनि प्रचण्डले भन्नुभएको छ । उहाँले वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादहरुबारे पार्टीमा फोरम सञ्चालन गरि आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउन प्रतिबद्ध हुनुपर्ने बताउँदै छुट्टाछुट्टै रुपमा गर्न लागिएको राष्ट्रिय भेला रोक्नपर्नेमा जोड दिनुभएको छ ।
यसरी प्रचण्डले निकै फकाउने पारामा लेखेको ‘प्रेमपत्र’ मा बैद्य खुशी हुनुभएको छैन । प्रचण्डको प्रस्तावलाई उहाँले पत्र पार्टीलाई एकताबद्ध तुल्याउने उद्देश्यमा नभई फेरि पनि छलछाम गर्ने र धोखा दिने अभिप्रायमा आधारित रहेको भन्नुभएको छ । साँच्चै मिल्ने हो भने नयाँ जनवादी गणतन्त्रको स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने मूल नीति तथा कार्यक्रममा आधारित कार्यदिशामै पार्टीलाई लैजानुपर्नेमा जोड दिनुभएको छ । सरकारको रक्षाको लागि संविधान सभा र व्यवस्थापिकालाई समेत बलि चढाइएको भन्दै उहाँले प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा भारत सरकारसंग बिप्पा, जलस्रोत संबन्धी समझदारी पत्र लगायतका राष्ट्रघाती एवम् जनविरोधी सम्झौताहरु गरिएका र यसो गर्नु सिधै पार्टी नीति विपरीत हुन गएको उल्लेख गर्नुभएको छ । जनमुक्ति सेनाका विरुद्ध गरिएको नेपाली सेनाको परिचालन र जनमुक्ति सेनाको विघटन र विसर्जन लगायतका निर्णयहरुप्रति आपत्ति जनाउनुभएको छ । संविधानसभा भंग हुनुमा पार्टी नेतृत्व नै दोषी भन्दै लिखित आत्मालोचना र त्यसप्रकारका गल्ती, कमी, कमजोरीहरुको पुनरावृत्ति नहुने प्रतिबद्धतासहितको प्रस्ताव अनिवार्य रुपमा आवश्यक रहेको बैद्यले उल्लेख गर्नुभएको छ ।
दुईथरी ‘प्रेमपत्र’ हेर्दा प्रचण्डले फकाउन लागेको र बैद्यले अझै घुर्की लगाएको जस्तो देखिन्छ । बिछोड हुन लागेका प्रेमी प्रेमिकाको जस्तो यो व्यवहारले दुवैको प्रेम झाँगिने हो या झन् बिछोडको बाटोमा जाने हो, त्यो अब प्रचण्डले फेरि ‘प्रेमपत्र’ लेखेर पठाउने जाँगर देखाउनुहुन्छ कि हुँदैन भन्नेमा भर पर्छ । तर वैद्यहरुको तयारी हेर्दा लाग्छ- उनीहरु प्रचण्डलाई छोडपत्र दिन तयार भइसके, मात्र मिति तोक्न बाँकी छ । त्यसअघि प्रेमपत्रको ओहोरदोहोर केवल औपचारिता मात्र हो ।

No comments:

Post a Comment