Tuesday, June 19, 2012

 माओवादीले जनविद्रोह मार्फत् जनक्रान्ति अघि बढाउने


काठमाडौं    

मोहन वैद्यको नेतृत्वमा बनेको नेपाल कम्यूनिष्ट पार्टी माओवादीले जनविद्रोह मार्फत् जनक्रान्ति अघि बढाउने घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी उसले पहिचान सहितको संघीयता र नागरिक अधिकार सुरक्षित नभए संघीयता पक्षधरले स्थानीय तहमा स्थानीय सत्ता र केन्द्रमा पनि समानान्तर सरकार बनाउने चेतावनी दिएको छ ।शान्ति प्रक्रियामा आएर माओवादीलाई गलाउन मात्रै खोजेको भन्दै नवगठित पार्टीका अध्यक्ष मोहन वैद्यले अब माओवादी नगल्ने र अधिकार प्राप्तिका लागि आवश्यक परे जनविद्रोह र जनयुद्ध जे पनि हुन सक्ने बताउनुभयो ।मुलुक भारतीय विस्तारवादको नवउपनिवेश बनेको भन्दै हस्तक्षेप नरोके भारतीय विस्तारवाद र दलाल पूँजिवाद विरुद्ध संघर्षको घोषणा गरेको छ । नवगठित माओवादीले तत्कालको समस्याबाट मुलुकलाई निकास दिन र संविधान बनाउन गोलमेच सम्मेलन र अन्तरिम सरकार बनाउनु पर्ने प्रस्ताव गरेको छ । संविधान सभाका नाममा सामन्त र दलालहरुसँग झगडा गर्दै बसेर संविधान नबन्ने वैद्यले बताउनुभयो ।राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउने घोषणा गर्दै उहाँले प्रचण्ड र बाबुरामले दक्षिणपन्थी विचार लिएर आत्मसमर्पण गरेकोले सम्बन्ध विच्छेद गर्नुपरेको घोषणा गर्नुभयो । प्रचण्डपथ गलत भएको स्वीकार गर्दै नव गठित नेकपा, माओवादीले मार्ग दर्शक सिद्धान्तका रुपमा माक्र्सवाद, लेनिनवाद, र माओवाद मान्ने घोषणा गरेको छ । मार्गदर्शक सिद्धान्तबाट माओ विचारधारालाई उसले हटाएको छ ।प्रचण्ड र बाबुरामले जनवादी क्रान्ति र राष्ट्रिय स्वाधीनताको पक्षमा सच्चिएर रुपान्तरण भएर आए एकताको ढोका खुला रहेको तर आफूहरु नजाने उनीहरु एकतामा आउनु पर्ने वैद्यले बताउनुभयो । विगतमा प्रचण्डले बाबुरामलाई भारत परस्त र बाबुरामले प्रचण्डलाई राजापरस्त भनेको उधृत गर्दै वैद्यले अहिले आफूहरुमाथि भारत र राजापरस्तहरुले आक्रमण गरिरहेको आरोप लगाउनुभयो ।

No comments:

Post a Comment